हर्षोल्लासपूर्ण अन्नप्राशन समारोह



२०८२ साल चैत्र ६ गते शुक्रबारको दिन हाम्रो परिवारका लागि अत्यन्तै विशेष, स्मरणीय र हर्षोल्लासपूर्ण रह्यो । यस दिन प्रिय भतिज (दाइको छोरा) को भातखुवाइ अर्थात् अन्नप्राशन समारोह अत्यन्त श्रद्धा, खुशीयाली, माया र उत्साहका साथ सम्पन्न गरियो । यस शुभ अवसरमा हाम्रो सम्पूर्ण परिवार—आमा, म, मेरी जीवनसंगीनी कमला, दाइ, भाउजु, दाइकी छोरी लगायत नजिकका आफन्तजन र इष्टमित्रहरूको उपस्थितिले वातावरण अझै रमाइलो, खास र आत्मीय भएको थियो । सानो बाबुलाई पहिलो पटक अन्न खुवाउने यो पवित्र संस्कार केवल परम्परा मात्र नभई परिवारका सबै सदस्यहरूलाई एकताबद्ध गर्ने, माया साट्ने र खुशी बाँड्ने सुन्दर अवसर पनि हो । रंगीन सजावट, हर्षोल्लास, शुभकामना र सबैको अनुहारमा देखिएको खुशीले यो दिनलाई झन् अविस्मरणीय बनाएको थियो । विशेषगरी भतिजको अनुहारमा देखिएको मासुम मुस्कानले सबैको मन जितेको थियो । यस्ता पारिवारिक जमघटका क्षणहरू जीवनका अमूल्य सम्पत्ति हुन जसले आपसी सम्बन्धलाई अझ बलियो बनाउँदै भविष्यका लागि मिठा सम्झनाहरू साँची राख्नेछन भन्ने सत्यलाइ आत्मसाथ गर्दै यस खुसीको क्षणलाई हामीले यादगार पलहरूको रूपमा स्मृतिको पानामा सझाएर राख्ने निधो गर्यौ ।






Share:

आनन्दमय जीवन जिउने सात सूत्र



जीवनलाई सहज, सरल, सन्तुलित र अर्थपूर्ण बनाउने प्रयासमा हामी प्रायः बाहिरी उपलब्धि, सफलता र व्यस्ततालाई मात्र प्राथमिकता दिन्छौं । तर वास्तविक शान्ति र सन्तुष्टि भने भित्रबाट सुरु हुन्छ । हाम्रो सोच, विचार, व्यवहार र चेतनाबाट । जीवनका साना तर गहिरा अभ्यासहरूले हाम्रो दिनचर्यालाई मात्र होइन, हाम्रो दृष्टिकोणलाई पनि परिवर्तन गर्न सक्छन । यहाँ प्रस्तुत “आनन्दमय जीवन जिउने सात सूत्र” कुनै जटिल सिद्धान्त होइनन, बरु दैनिक जीवनमा सजिलै अपनाउन सकिने सरल तर शक्तिशाली अभ्यासहरू हुन, जसले मनलाई शान्त, हृदयलाई हलुका र जीवनलाई आनन्दमय एवं अर्थपूर्ण बनाउने दिशामा मार्गदर्शन गर्छन ।


१.मौन रहनु/शान्त रहनु/एक्लै बस्नुः मौन बस्नु भनेको केवल नबोल्नु मात्र होइन, यो आफै भित्रको गहिरो आध्यात्मिक यात्राको ढोका खोल्नु हो । जब हामी केही समयका लागि बाहिरी कोलाहलबाट टाढा हुन्छौँ, तब मात्र मनले आफ्नो वास्तविक स्वरूप देखाउन थाल्छ । प्रायः हामी दिनभरि अरूको कुरा, काम, मोबाइल, चिन्ता र अपेक्षामा अल्झिएर आफ्नो भित्री संसारलाई बेवास्ता गर्छौँ । तर १० मिनेट जतिको एकान्तको मौनताले ती सबै आवरण हटाउँछ र मनमा उठिरहेका विचार, डर, चाहना, असन्तुष्टि लगायत सबै सबै प्रष्ट देखिन थाल्छ । यहाँ मुख्य कुरा विचारलाई दबाउनु होइन, मनमा वा आफुभित्र के भइरहेको छ वा के चलिरहेको छ त्यसको साक्षी बन्नु मात्र हो । जसरी आकाशले बादललाई हेर्छ । यसरी साक्षी भावमा बस्दा बस्दै विस्तारै बिस्तारै मनको अशान्ति घट्न थाल्छ, किनकि हामी विचारसँग लड्न छोड्छौँ । यो अभ्यासले आत्म–चेतना बढाउँछ, भावनात्मक स्थिरता ल्याउँछ र जीवनका जटिल अवस्थाहरूलाई पनि स्पष्ट दृष्टिले हेर्न सक्ने क्षमता दिन्छ । अन्ततः मौनता हाम्रो शिक्षक बन्छ जसले बिना शब्द वास्तविक आत्मज्ञान सिकाउँछ ।


२.शून्य प्रतिक्रिया (केवल सुन्ने मात्र): सुन्ने कला आजको संसारमा लगभग दुर्लभ बन्दै गएको छ, किनकि सबैजना बोल्न र आफ्नो विचार राख्न हतारिएका हुन्छन । तर साँचो बुझाइ बोलाइमाभन्दा सुन्ने क्षमतामा लुकेको हुन्छ । जब कसैले केही भन्छ, तब आफ्नो रक्षा गर्न, तर्क गर्न वा आफ्नो धारणा थोपर्न हामी तुरुन्तै प्रतिक्रिया दिन हतारिन्छौं । खासमा यस्तै हतारले धेरै सम्बन्ध बिग्रिन्छन । तर, यदि हामी केही क्षण रोकिन सक्यौँ भने, हामीले शब्द मात्र होइन, भावना पनि सुन्न सक्छौं । शून्य प्रतिक्रिया भन्नाले आफूलाई निष्क्रिय बनाउनु होइन, बरु सजग र धैर्यवान बन्नु हो । जब हामी प्रतिक्रिया दिन हतार गर्दैनौं, तब हाम्रो उत्तर अझ स्पष्ट, सन्तुलित र अर्थपूर्ण हुन्छन । यसले हाम्रो व्यक्तित्वमा परिपक्वता ल्याउँछ र अरूलाई पनि सम्मानित महसुस गराउँछ । सुन्न सक्ने व्यक्तिले मात्र साँचो अर्थमा वास्तविकता बुझ्न सक्छ र बुझाइ नै गहिरो सम्बन्धहरुको आधार हो । त्यसैले कहिलेकाहीँ मौन उत्तर सबैभन्दा शक्तिशाली प्रतिक्रिया बन्न सक्छ । 


३.स्वीकार्यता (जे भइरहेको छ त्यसैलाई स्वीकार गर्ने): जीवनको धेरै पीडा “के भइरहेको छ” भन्ने वास्तविकता भन्दा पनि “किन यस्तो भयो?” भनेर प्रश्न गर्ने स्वभावले जन्माउछ । हामी वास्तविकतालाई स्वीकार गर्न नसकेर त्यससँग लड्न थाल्छौं र यही संघर्षले मनमा तनाव र असन्तुष्टि बढाउँछ । स्वीकार्यता भनेको हार मान्नु होइन, बरु यथार्थलाई स्पष्ट रूपमा देख्नु हो । जब हामी भन्छौं “अहिले अवस्था यस्तै छ” तब हामी प्रतिरोध छोड्छौं र समाधान खोज्न सक्षम हुन्छौं । अस्वीकारले मनलाई अँध्यारो बनाउँछ तर स्वीकार्यताले मनमा उज्यालो ल्याउँछ । यसले हामीलाई परिस्थितिभन्दा माथि उठेर सोच्न सिकाउँछ । यो घटनाबाट मैले के सिक्न सक्छु? भन्नेखाले दृष्टिकोण दिन्छ । स्वीकार्यता भनेको जीवनसँगको सहकार्य हो, विरोध होइन । जब हामी जीवनलाई जस्तो छ त्यस्तै स्वीकार गर्छौं, तब मात्र हामी त्यसलाई परिवर्तन गर्ने सही शक्ति र बुद्धि प्राप्त गर्छौँ । यही स्वीकृतिको भावले अन्ततः मनमा शान्ति र जीवनमा सन्तुलन ल्याउँछ ।


४. सचेत क्रिया (बिस्तारै चल्ने, बिस्तारै खाने, बिस्तारै काम गर्ने): आजको जीवनशैली जे काम पनि छिटो छिटो गर्ने प्रतिस्पर्धामा आधारित छ । मानौ हामी समयसँग अघि दौडिरहेका छौं । यही हतारले खासमा जीवनको वास्तविक स्वाद हराइरहेको छ । जब हामी बिस्तारै हिँड्छौं, तब मात्र हामीले वरिपरिको वातावरण, हावाको स्पर्श र स–साना दृश्यहरूको सौन्दर्य महसुस गर्न सक्छौं । हतार हतारमा हैन, खाना खानूपूर्व अस्तित्व प्रति कृतज्ञ हुनु वा किसानहरु प्रति आभारी हुनु, र हरेक गाँसको स्वाद, गन्ध र त्यसले दिने उर्जा महसुस गर्दै खाएर खानासँग एक किसिमको कनेक्सन बनाउनुले खानको असली रस मिल्छ । अझ भनौं, बिस्तारै होसपूर्वक काम गर्दा हाम्रो ध्यान गहिरो हुन्छ, गल्ती कम हुन्छ र परिणाम राम्रो हुन्छ । बिस्तारै काम गर्नु कुनै आलस्यता होइन, जागृति हो, होसपूर्णता हो । यसले हाम्रो जीवनलाई यान्त्रिकताबाट मुक्त गरेर सचेत अनुभवमा रूपान्तरण गर्छ । जब हामी जीवनलाई बिस्तारै बाँच्न थाल्छौं, तब मात्र हामीले जीवनलाई “पूरै” बाँच्न थाल्छौँ । 

 

५.प्रकृतिसँग जोडिनुः हामीले के कुरा भुल्नु हुँदैन भने खासमा मानव जीवनको मूल जरा प्रकृतिसँग जोडिएको छ । तर आधुनिक शहरी जीवनशैलीले हामीलाई त्यसबाट टाढा पु¥याएको छ । जब हामी माटोमा वा घाँसमा खुट्टा टेक्छौं, हावाको स्पर्श महसुस गर्छौं, चिसो पानीले शरीर नुहाउछौं, खुला आकासको विराटता देख्छौ वा सूर्यको न्यानोपनलाई अनुभव गर्छौं, तब हाम्रो शरीर र मनमा एउटा प्राकृतिक सन्तुलन फर्किन्छ । प्रकृतिमा कुनै कृत्रिमता हुँदैन । त्यहाँ सबै कुरा स्वाभाविक, सरल र सन्तुलित हुन्छ । यही सन्तुलनले हाम्रो भित्री अशान्तिलाई पनि शान्त पार्छ । प्रकृतिसँग बिताएको समयले तनाव घटाउँछ, ऊर्जा बढाउँछ र सोचलाई स्पष्ट बनाउँछ । यसले हामीलाई सम्झाउँछ कि जीवनको वास्तविक सौन्दर्य कृतिम आधुनिकतामा हैन प्राकृतिक सरलतामा लुकेको छ । जब हामी प्रकृतिसँग पुनः जोडिन्छौं, तब हामी आफ्नै अस्तित्वसँग पनि पुनः जोडिन्छौं । प्रकृति केवल बाहिरी संसार मात्र होइन, हाम्रो भित्री स्वरूपको प्रतिबिम्ब पनि हो ।


६.क्षमा गर्नु (सबैलाई माफ गरिदिनु): मनमा दुःख, अहंकार, इख, रिस र गुनासो राख्नु भनेको आफूलाई नै अन्धकार कैदमा राख्नु जस्तै हो । हामी प्रायः सोच्दछौं कि क्षमा गर्नु भनेको आफ्नो गल्ती स्वीकार गर्नु हो, तर वास्तवमा क्षमा गर्नु भनेको आफ्नो मनलाई मुक्त गर्नु हो । जब हामी कसैलाई माफ गर्छौं, तब हामी भूतकालको बोझ छोड्छौं । क्षमाले चोटलाई मेटाउँदैन तर त्यससँगको हाम्रो सम्बन्ध परिवर्तन गर्छ । यसले मनभित्रको कठोरता पगाल्छ र करुणा जगाउछ । क्षमा गर्नु सजिलो हुँदैन तर यो अभ्यासले विस्तारै मनलाई हलुका बनाउँछ । जसरी भारी बोकेर हिँड्दा थकाइ लाग्छ, त्यसैगरी गुनासो बोकेर बाँच्दा जीवन भारी हुन्छ । क्षमा याचनाले जीवनलाई हल्का बनाउछ । अन्ततः क्षमा अरूका लागि होइन, आफ्नै मनको शान्तिका लागि महत्वपूर्ण सावित हुन्छ ।


७.आभार व्यक्त गर्नु/कृतज्ञ हुनुः कृतज्ञता जीवनलाई हेर्ने दृष्टिकोण हो, जुन अभावभन्दा बढी उपलब्धिमा केन्द्रित हुन्छ । जब हामी साना साना कुरामा पनि धन्यवाद भन्न थाल्छौं वा आभार प्रकट गर्न थाल्छौं तब हाम्रो जीवन स्वत समृद्ध महसुस हुन थाल्छ । जस्तै विहान स्वस्थ उठ्नु, सास फेर्नु, दुई छाक खाना खान पाउनु, शरीर ढाक्ने लुगा लगाउन पाउनु, घरमा सुत्न पाउनु, परिवार हुनु, साथिभाइ हुनु वा आफुलाइ एकदमै प्रिय लाग्ने व्यक्तिकोसाथमा हुनु जस्ता कुरा जीवनको एकदमै महत्वपूर्ण पक्ष हुन, यनिहरु हाम्रो उपलब्धि हुन, हामी यि कुराहरु हुनुमा अस्तित्वप्रति कृतज्ञ भयौं भने हामी आफुलाई सधैं समृद्ध पाउछौं । कृतज्ञता मनको सकारात्मक ऊर्जा हो, जसले असन्तुष्टि र तुलना गर्ने बानीलाई कम गर्छ । जब हामी “के छैन” भन्दा “के छ” मा ध्यान दिन्छौं, तब मन सन्तुष्ट हुन्छ । कृतज्ञ व्यक्तिले कठिन परिस्थितिमा पनि केही राम्रो देख्न सक्छ, किनकि उसको दृष्टि सकारात्मक हुन्छ । कृतज्ञता केवल शब्द होइन, अनुभूति हो । कृतज्ञता खासमा जीवनप्रतिको गहिरो सम्मान र प्रेम हो । जब हामी हरेक दिन साना साना कुरामा कृतज्ञ हुन थाल्छौ, तब जीवनले पनि हामीलाई कृतज्ञ हुनको लागि थप कारणहरू दिन थाल्छन ।


समग्रमा, जीवनलाई आनन्दमय बनाउने कुनै बाहिरी रहस्य छैन । यो हामीले भित्र विकास गर्ने बानी, सोच र चेतनामा निर्भर हुन्छ । यी सात सूत्रहरू अभ्यासका विषय हुन, एकैपटक पूर्ण रूपमा हासिल गर्ने लक्ष्य होइन । सानो सानो प्रयास, निरन्तर अभ्यास र धैर्यले यी सिद्धान्तहरू विस्तारै हाम्रो जीवनको हिस्सा बन्न सक्छन । जब हामी मौन, स्वीकार्य, होसपूर्ण, प्राकृतिक, क्षमादायी, कृतज्ञ र करुणमय भावमा बाँच्न थाल्छौँ, तब जीवन आफैँ सरल, हलुका, आनन्दमय र गहिरो अर्थपूर्ण बन्छ । त्यसैले, आजैबाट सानो कदम चालौं र आफ्नै जीवनलाई भित्रैबाट रूपान्तरण गर्ने यात्रामा लागौं ।

Share:

निर्वाचन कि अस्थिरताको चक्र?



नेपालको लोकतान्त्रीक इतिहासमा यो नै पहिलो कालो धब्बा हो जहाँ निर्वाचित सरकार ढालेर फेरी निर्वाचन नै गराइदैं छ । उच्च मतदाता सहभागिता सहितको निर्वाचित सरकार विदेशीको इशारामा जबरजस्त विध्वंस र आतंक मच्चाएर  ढालेर, गैरसंवैधानिक तरिकाले संसद विघटन गरी, नागरीक सरकारको नाममा रबी-बालेनको गठबन्धन सरकारले फेरी त्यही निर्वाचन नै गराउँदै छ । भनिन्छ लोकतान्त्रिक अभ्यासमा समस्या समाधानको सबै सबै विकल्पहरूले काम नगरेपछि अन्तिम समाधान भनेको निर्वाचन नै हो । तर, नेपालमा त कुनैपनि विकल्पहरूको प्रयोग नै गरिएन वा बहस समेत गरिएन । अहिलेको नजिर जो बसेको छ यो निर्वाचन सम्पन्न भएर सरकार गठन भएको ६ महिना देखि २ वर्ष भित्र अर्को कुनै पनि असन्तुष्ट  पक्षले गत भदौमा रबी-बालेनहरूले मंचाए जस्तै आतंक मच्चाएर पुनः सरकार नढाल्लान भन्ने कुनैपनि आधार छैन । नेपालमा अमेरिकाको मात्र नांगो हस्तक्षेप सर्वेसर्वा छैन, चीनले पनि निकट भविष्यमा चुपचाप एवं कुटिल तरिकाले हस्तक्षेपकारी भूमिका खेल्न सक्छ । उसैपनि कसैको बहुमत आँउदैन, संसदमा सरकार बनाउने र ढलाउने शक्तिसन्तुलनको द्वोन्दमा स्वत मध्यावधि निर्वाचनमा जानुपर्ने पनि हुनसक्छ । जसरीपनि, फेरी निर्वाचनमा जानुपर्ने दिन आउँन सक्छ छिटै । आशा गरौं त्यस्तो दिन नआवस ! यही निर्वाचनले नै नेपालीहरुले चाहेजस्तै सबै समाधान दिओस । नेपालीहरुले चाहे जस्तै जो कोही कुनै एक मसिहा पात्रले जादुको छडि घुमाएर सबै सबै समस्याको समाधान गरिदिउन । शुभकामना !

Share:

नेपालको लोकतन्त्र विचार र सिद्धान्तनिष्ठ संघर्ष, त्याग र बलिदानीबाट आएको हो

सहिद दिवसका सन्दर्भमा नेपालको लोकतान्त्रिक यात्राको स्मरण



पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठज्यूका विचारहरूको आधारमा मैले तयार पारेको यो लेख २०८२ माघ १६गते न्युज २४ दैनिकमा प्रकाशित भएको थियो । यसलाई सन्देशमूलक, ऐतिहासिक एवं भावी पुस्ताका लागि सन्दर्भयोग्य ठानेर, लेखकको अनुमति सहित यहाँ मेरो व्यक्तिगत ब्लगमा पुनःप्रकाशन गरिएको हो।

२००७ सालदेखि नेपालमा हरेक वर्ष माघ १६ मा सहिद दिवस मनाइन्छ । यो केवल एउटा सार्वजनिक बिदा मात्र होइन, यो दिन नेपाली इतिहासको सबैभन्दा गौरवशाली तर सबैभन्दा पीडादायी अध्यायहरूको श्रद्धापूर्ण स्मरण हो । यो दिन हामी ती महान् आत्माहरूलाई सम्झन्छौं, जसले राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता, स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो जीवनको सर्वोच्च आहुति दिए । त्यसर्थ, सहिद दिवस भनेको केवल सहिदहरूको सालिकमा फूल चढाएर श्रद्धाञ्जली अर्पण गर्ने दिन मात्र होइन, यो त हामी वर्तमानमा उभिएर उनीहरूको त्याग, तपस्या र बलिदानलाई हामीले के कति न्याय गरेका छौं भनेर आत्मावलोकन गर्ने दिन हो । हामी कहाँबाट आएका हौं र हामी कता जाँदैछौं भन्ने प्रश्न आफैंसँग सोध्ने दिन हो । इतिहासको गहिराइमा डुबेर हेर्दा, हाम्रो लोकतन्त्र कुनै सहज यात्राबाट आएको होइन । यो न त हामीले दानमा पाएका हौं, न त कुनै भीड र भाषणको उपज हो । नेपालको लोकतन्त्र त फाँसीको डोरी, जेलको कालकोठरी, निर्वासन, अपमान, यातना र बलिदानको आगोबाट जन्मिएको हो ।                  

विसं. १९०३ देखि २००७ सालसम्म झण्डै १०४ वर्षसम्म नेपाल एक परिवारको निरंकुश शासनको बन्दी बन्यो । जहाँ शासन जनताको सेवाका लागि होइन, जनतामाथि शासन गर्नकै लागि थियो । राज्य र जनताबीच गहिरो दूरी सिर्जना गरिएको थियो । राजनीतिक चेतनालाई अपराध ठानिन्थ्यो । प्रश्न गर्ने आवाजलाई राज्यद्रोहको संज्ञा दिइन्थ्यो । लेख्नु विद्रोह मानिन्थ्यो, संगठित हुनु मृत्युदण्ड बराबर थियो । जनताको शासनका लागि जनमत होइन, शासकका इच्छाअनुसार चलाइने वस्तुमा सीमित बनाइएको थियो । शक्ति केही सीमित व्यक्तिको हातमा केन्द्रित रहँदा शिक्षा, प्रेस, संगठन, राजनीतिक गतिविधि र अभिव्यक्ति स्वतन्त्रतालाई योजनाबद्धरूपमा दबाइएको थियो, ताकि जनता अज्ञानता, भय र मौनतामै दबिएर रहून् । कानून न्यायका लागि होइन, सत्ता जोगाउन मात्र प्रयोग गरिन्थ्यो । देशको स्रोत र साधन शासक वर्गको विलासितामा खर्चिंदा आम जनता गरिबी, अविकास र असमानताको चक्रमा फसिरहे । तर इतिहास सधैं अँध्यारोमै फसिरहँदैन, एक न एक दिन चेतनाको दीप बलेरै छाड्छ भनेझैं त्यत्रो लामो दमनका बाबजुद अन्ततः चेतताको झिल्को देखिन थाल्यो ।                    

विसं. १९९० को दशकमा नेपालमा पहिलोपटक संगठित राजनीतिक चेतनाको सुरुआत भयो । यही कालखण्डमा टंकप्रसाद आचार्यको नेतृत्वमा नेपाल प्रजापरिषद् स्थापना भयो । यो संस्था नेपालको इतिहासमा राजनीतिक उद्देश्यका लागि स्थापित पहिलो संगठित संस्था थियो । यसले राणाशासनविरुद्ध केवल विरोध मात्र गरेन, प्रजातन्त्रको वैचारिक आधारशिला तयार गर्दै जनतामा अधिकार र स्वतन्त्रताको चेतना फैलायो । तर, यस आन्दोलनको मूल्य अत्यन्तै महँगो साबित भयो । १९९७ सालमा राणाशासनले यस आन्दोलनलाई क्रूरतापूर्वक दमन गर्दै अमर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई फाँसीको सजाय दियो । साथै, टंकप्रसाद आचार्यलाई पनि मृत्युदण्डको सजाय सुनाइयो । तर ब्राह्मण भएकाले आचार्यको ज्यान जोगियो । कपाल मुण्डन गरी आजीवन कारावासको सजायमा परिणत गरियो ।                    

इतिहासप्रति सबैभन्दा ठूलो अन्याय के हो भने, हामीले बलिदानलाई केवल चार अमर सहिदहरूको नाममा मात्र सीमित गर्दै आएका छौं । यस संघर्षका क्रममा कैयौं जनताले जेल, जन्मकैद, सर्वस्व हरण, हदबन्दी, जरिवाना, अमानवीय यातना र निर्वासनसमेत भोग्नुपर्‍यो भने धेरैले आफ्नो घरबार र जीवनको सुरक्षासमेत गुमाए । यी सबै बाँचेर पनि मरेका सहिदहरू थिए । उनीहरूको त्याग र तपस्याको ऋण कुनै पनि पुस्ताले कसैगरी चुकाउन सक्दैन । उनीहरूको त्याग, तपस्या र बलिदानले नै नेपाली जनताको मनमा प्रजातन्त्रको बीउ रोप्दै नयाँ राजनीतिक चेतनाको जागरण गराए जसका कारण राणाविरोधी आन्दोलन अझ सशक्त र घनीभूत बन्दै गयो । दबाब बढ्दै गएपछि राणा शासकहरूले केही सतही सुधारका प्रयास गरे तापनि निरंकुश शासन व्यवस्थाका कारण त्यसको प्रभावकारी कार्यान्वयन हुन भने सकेन ।                            

विसं. १९९७ साल नेपाली लोकतान्त्रिक इतिहासको आत्मा हो । अमर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठका नाम केवल सहिद मात्र होइनन्, यी त लोकतन्त्रका चार खम्बाहरू हुन् । शुक्रराज शास्त्रीले इन्द्रचोकको खुला मञ्चबाट प्रजातन्त्रको आवाज उठाए । धर्मभक्तले कवितालाई क्रान्तिको हतियार बनाए । दशरथ चन्दले विचार र संगठनलाई जोड दिए । गंगालाल श्रेष्ठले युवाशक्तिलाई आन्दोलनमा आकर्षित गरे । उनीहरूलाई थाहा थियो – यो क्रान्तिको अन्त्य फाँसी हुन सक्छ । तर उनीहरू पछि हटेनन् । बन्दुकको गोली र फाँसीको डोरीमा झुण्डिँदा उनीहरूले आफ्नो शिर त झुण्डाए तर देशको शिर उचो बनाए । उनीहरूको बलिदानले नेपाली जनताको मनमा प्रजातन्त्रको बीउ रोप्यो, त्यही बीउले पछि विशाल वृक्षको रूप लियो । अहिले हामीहरूले उपभोग गरको स्वतन्त्रता उनिहरूको बलिदान हो । त्यसर्थ, कृपया यसको दुरुपयोग नगरौं । स्वतन्त्रताका नाममा छाडातन्त्र, अराजकता र भीडतन्त्रलाई प्रोत्साहन नगरौं ।                      

यी तथ्यहरूलाई उतिबेला सन् १९४१ अर्थात् (विसं १९९७) मा बेलायतका राजदूत सिंह शमशेर जबरालाई नेपालमा भएका भाइ लाठसाब (प्रमुख शासक, हाल शीतल निवासका मालिक) कृष्ण शमशेर जबराले पठाएको पत्र मैले अध्ययनका क्रममा प्राप्त गरी त्यसको प्रतिलिपि जस्ताको त्यस्तै यहाँ राखेको छुः                

(ऐतिहासिक दस्तावेज — पत्र)

१० फ्रेब्रुअरी १९४१, नेपाल ।

दाज्यैज्यू,

यहाकोई कोही घटिया मतमा परेका मानिसहरूले विद्रोह फैलाउने नियतरुप कार्वाही गर्न जारी रहेको कुरा सरकारमा जाहेर भई सुभासंकाबाट पक्राउ भई आएकाहरूको खार खेर हुँदा निस्किएको सबुत, प्रणाम, परिबन्धबाट र गुज्रेको सबुहतबाट निर्दोशी देखिएकाहरू छुटे । कसुरदार ठहरीएकाहरूमा ४ जनालाई ज्यान सजाँए भयो । २ जना बाहुनहरू मुडीए । १२ जनालाई जन्मकैद र सर्वस्व हुनेभए । २० जना ३ वर्ष देखि १८ वर्षसम्मको कैद परे । ४ जानाले चार भञ्ज्यांग बाहिर गरीने हदको सजाए पाए । यो खबर हजुरमा जाहेर भइरहे, कहाँ कसैले हजुरसँग यस विषयमा केही कुरा गरे वा सोधे भने, मुनासिव माफिको जवाफ बक्सनलाई सजिलो होला भन्नाखाततिर श्रीपाँच बुवाज्यूबाट हुकुम बक्से मुताविक यो खबर हजुरमा जाहेर गरी पठाएको छु। जम्मा सजाँए पाउने र छुटनेहरूको नाम नामेसी लेखिएको र पाएको सजाए जनिएको कागज एक प्रति यसै साथ चढाइ पठाएको छु। यो ब्यहोरा त्यहाँ हजुरसँग कुरा गरी बक्सनलाई चाहिने होइन, खाली हजुरलाइ सम्म थाहा होस भनी पठाएको हो । साहेवनाहरूसँग कुरा भएमा हिन्दुस्तानका बिद्रोहीहरूको बहकाउमा फसेका नेपाली केही नवजवानहरूले विद्रोह मन लाई उपद्र मच्चाउने नियत लिई काम गर्न लागेको थाहा भई मामिला चलेछ । त्यसमा मुख्य कसुरदार ठहरीएका ४ जनालाई ज्यान सजाय भयो । २ जना बाहुनहरू मुडीए । १२ जना जन्मकैदमा परे । २० जनाले तिनिहरूको कसुर अनुसार ३ वर्षदेखि १८ वर्षसम्म जेलमा रहने सजाए पाए । यी विद्रोहीहरूले ठुलो उपद्र मच्चाउने सुर बाँधेका रहेछन । उठानको बेलामानै कुरा खुल्न गएको हुनाले बेस भयो । अहिले प्रकाश नभई गोप्य रहन गएको भए धेरै मानिसलाई बिगार्ने चेस्टा उनिहरूले गरेका थिए भन्ने मौका अनुसार यस्तै मुनासीव माफीकको कुरा गरी बक्सने छ । जो मर्जी । ज्यादा के बिन्ती चढाउ, गाथमा सधा आराम र सुविस्ता भए बालकको उद्धार होला । जो मर्जी ।

सदा भक्त वालक भाई कृष्ण शम्सेरको

कोटी कोटी दण्डवत

श्री दाज्यैज्यू सु.प्र.मा.ने.ता.मु.प्र.प्र.गो.द.वा

ज. सिंह सम्सेर जंग बहादुर राण

जि.व.बज.यक्ष.का हजुरमा ।



१९९७ सालको बलिदानपछि राणाशासन हल्लिन थाल्यो । यसैबीच राणाशासनविरुद्धको संघर्षलाई संस्थागत रूप दिन राजनीतिक दलहरू गठन हुने क्रम बढ्दै जान थालेसँगै राणा शासनविरोधी गतिविधि संगठितरूपमा क्रियाशील हुने क्रम पनि बढ्दै जान थाल्यो । विसं. २००३ सालमा नेपाली कांग्रेसको स्थापना भई प्रजातान्त्रिक अधिकार र जनसत्ताको पक्षमा संगठित आन्दोलन अघि बढायो भने वि.सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भई सामाजिक न्याय र समानतामा आधारित परिवर्तनको एजेण्डासहित राजनीतिक चेतनालाई थप विस्तार गर्‍यो । यी दलहरूको उदयले राणाविरोधी आन्दोलनलाई स्पष्ट दिशा, संगठन र नेतृत्व प्रदान गर्दै संघर्षलाई नयाँ चरणमा प्रवेश गरायो ।                    

छिमेकी मुलुक भारतमा ब्रिटिस शासनविरुद्धको आन्दोलन निष्कर्षमा पुग्ने क्रममा थियो । अन्ततः २००४ सालमा भारत ब्रिटिस शासनबाट मुक्तसमेत हुन पुग्यो । छिमेकी भारतमा ब्रिटिस शासनको अन्त्यले नेपालभित्रको राणाविरोधी आन्दोलनलाई थप ऊर्जा दियो । देशभित्र राणा शासनविरोधी आन्दोलन चर्किंदै गइरहेको अवस्थाका साथै छिमेकी मुलुकमा देखिएको परिवर्तनको हावाले राणा शासकहरू डराएर जनअधिकार स्थापित गर्न केही लचिलो बन्न थाले, तर ती पर्याप्त थिएनन् ।                    

अन्ततः २००७ सालमा जनआन्दोलन र सशस्त्र संघर्षको सम्मिलित दबाबले राणाशासनको अन्त्य भयो । प्रजातन्त्र आयो । त्यो कुनै दान थिएन, त्यो त नेपालीहरूको रगतले लेखिएको अधिकार थियो । १०४ वर्ष लामो निरंकुशता, दमन, जेल, यातना र बलिदानपछि प्राप्त यो परिवर्तनले जनतालाई पहिलोपटक शासनको केन्द्रमा उभ्यायो र अधिकार, स्वतन्त्रता तथा प्रतिनिधित्वको ढोका खोल्यो । यद्यपि, यो उपलब्धि पूर्ण थिएन, तर यसले निरंकुश शासनको अन्त्य गर्दै नेपाललाई लोकतान्त्रिक अभ्यासको यात्रामा प्रवेश गरायो, जसको आधार जनताको साहस, एकता र अविचल प्रजातान्त्रिक संघर्ष नै थियो ।                        

सहिदहरूले बाटो त देखाए, तर बाटो हिँड्ने जिम्मा बाँचिरहेकाहरूको काँधमा आयो । त्यसैले नेपालको लोकतान्त्रिक इतिहास केवल सहिदहरूको कथा मात्र होइन, सहिदहरूपछि बाँचेर पनि डर नमानेका, हार नस्वीकारेका र निरन्तर संघर्षमा होमिएका सहिदका विचारहरूका उत्तराधिकारीहरूको पनि कथा हो । टंकप्रसाद आचार्य, रामहरि शर्मा, मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, वामपन्थी नेता पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, महेन्द्र नारायण निधि, रामनारायण मिश्रलगायत कयौं नेताहरूले जेल, निर्वासन, यातना र अपमान सहँदै पनि प्रजातन्त्रलाई संस्थागत गर्ने कठिन यात्रामा आफूलाई होमे ।                            

२००७ सालपछि लोकतन्त्र संस्थागत गर्ने चुनौती थप जटिल रह्यो । किनभने, जनताका लागि स्वतन्त्रता र अधिकार केवल घोषणामा मात्र सीमित गरेर भएन, यसलाई व्यवहारमा उतार्ने कठिन कार्य अघि थियो । संघर्ष, बलिदान र ऐतिहासिक परिवर्तनका बाबजुद नयाँ संस्थाहरू बनाउने, कानून लागू गर्ने र जनताको विश्वास जित्ने जिम्मेवारी सबैको सामु थियो । अन्ततः विसं. २०१५ सालमा नेपालको इतिहासमै पहिलो आम निर्वाचन सम्पन्न भयो, जसले जनतालाई पहिलोपटक आफ्नो प्रतिनिधि आफैं छान्ने वास्तविक अधिकार प्रदान गर्‍यो । त्यो निर्वाचन केवल राजनीतिक प्रक्रिया मात्र थिएन, त्यो त १९९७ सालमा राणाशासनविरुद्ध फाँसी चढेका अमर सहिदहरूको आत्माप्रति जनताद्धारा समर्पित प्रजातान्त्रिक उपहार थियो । त्यस निर्वाचनले नेपाली जनतालाई स्वतन्त्रता, प्रतिनिधित्व र राजनीतिक भागीदारीको वास्तविक अनुभूति गराउँदै लोकतन्त्रलाई मात्र होइन, राष्ट्रिय चेतनालाई पनि स्थायित्व प्रदान गर्‍यो ।                          

प्रजातन्त्रको स्थापनापछि पनि नेपालको लोकतान्त्रिक यात्रा सहज थिएन । त्यसपछिका दशकहरूमा पञ्चायती व्यवस्थाको अन्त्य, प्रजातन्त्रको पुनर्बहाली, राजतन्त्रको अन्त्य, लोकतन्त्रको स्थापना, जनअभिमतको आधारमा बनेको संवैधानिक व्यवस्था र समग्र विकासको प्रक्रियासम्म आइपुग्दा, असंख्य राजनीतिक नेता, व्यक्तित्व तथा सामाजिक संघसंस्थाहरूले निरन्तर सक्रिय योगदान, त्याग र बलिदान दिएका छन् । उनीहरूले पनि जेल, निर्वासन, दमन, प्रतिबन्ध र अपमान सहँदै पनि लोकतन्त्रको दीप निभ्न नदिने जिम्मेवारी बहन गरे । यस्तो ऐतिहासिक योगदानलाई आज आएर एकाङ्गीरूपमा कम आँक्ने, घृणा वा दुरुत्साहनका शब्द प्रयोग गरेर अवमूल्यन गर्ने, नियोजितरूपमा झुटा आरोप लगाउने वा सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमार्फत घृणा र द्वेष फैलाउने गतिविधिहरू बढेको देखिन्छ जुन राष्ट्रका लागि अत्यन्तै हानिकारक हुन सक्छन् । यस्ता प्रवृत्तिले लोकतान्त्रिक चेतनालाई कमजोर बनाउने मात्र होइन, सहिदहरूको बलिदान र त्यसपछिका पुस्ताले गरेका संघर्षहरूप्रति गम्भीर अन्याय पनि गर्दछ । त्यसैले इतिहासप्रति जिम्मेवार दृष्टिकोण अपनाउनु, योगदानको समग्र मूल्यांकन गर्नु र लोकतन्त्रको रक्षा गर्ने सबै शक्ति, व्यक्तित्व र संस्थाप्रति सम्मानजनक र विवेकपूर्ण व्यवहार गर्नु आजको अनिवार्य आवश्यकता हो ।                            

तर, आज हामी गम्भीर मोडमा छौं । लोकतन्त्रका नाममा अराजकता, स्वतन्त्रताका नाममा छाडातन्त्र, क्रान्तिका नाममा भीडतन्त्र र परिवर्तनका नाममा विध्वंश मौलाइरहेको देखिन्छ । देश जलाउने, निजी सम्पत्ति तोडफोड गर्ने, कानून मिच्ने, हिंसा फैलाउने र व्यक्तिगत स्वार्थका लागि मर्नेहरूलाई समेत सहिद घोषणा गर्ने प्रवृत्ति बढ् दो छ । यस्तो त वास्तविक सहिदहरूप्रति सम्मान होइन, घोर अपमान भएको झल्किन्छ । अन्यथा, वास्तविक सहिद भनेको के हो ? शुक्रराज, धर्मभक्त, दशरथ र गंगालाल लाई पढौं । क्रान्ति भनेको के हो ? राणाशासनविरुद्ध होमिएका ती हजारौं मौन बलिदानीहरूलाई पढौं ।                          

नेपालको लोकतन्त्र भाषणबाट आएको होइन । भीडबाट आएको हैन । न कुनै एक मसिहाले ल्याइदिएका हुन् । न कुनै आवेग र उत्तेजनाबाट आएको हो । न कुनै अराजकताबाट आएको हो, न कुनै विध्वंशबाट आएको हो । नेपालको लोकतन्त्र त फाँसीको डोरी, जेलको कालकोठरी, निर्वासन र यातनाको आँसुले जन्मिएको हो । विचार र सिद्धान्तनिष्ठ संघर्ष, त्याग र बलिदानीबाट आएको हो ।                                

त्यसैले, सहिदहरूको सपनालाई फिका नबनाऔं । सहिदहरूको बलिदानीलाइ उच्च कदर गरौं । उनीहरूले बसालिदिएको लोकतन्त्रको जगलाई कमजोर होइन, थप सुदृढ, थप परिष्कृत र थप जवाफदेही बनाऔं । मैले महसुस गरिरहेको छु– नेपालमा पछिल्ला केही समयदेखि देशी–विदेशी शक्ति मिलेर नेपालको लोकतन्त्र, लोकतान्त्रिक इतिहास र लोकतान्त्रिक आन्दोलनलाई कमजोर बनाउने प्रयास गरिरहेका छन् । नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा आँच आउने गतिविधि बढिरहेका छन् । यस्तो गतिविधि राष्ट्रकका लागि, राष्ट्रियताका लागि र जनताका लागि हितकर देखिदैंन । त्यसर्थ, माघ १६ गते केवल सहिदहरूलाई सम्झने दिन मात्र होइन, यो त संकल्प गर्ने दिन हो– ‘सहिदहरूले उपहार दिएका स्वतन्त्रताका नाममा देश जलाउने होइन, देश बनाउने गरौं ।’            


Share:
for 👦 Good News
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र: (१)अन्तरमुखी हुनु (मौन) , (२)वैराग्य हुनु (जिज्ञासु) र (३)एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim

Send Me a Message