२०७० सालको कार्तिक १७ गते दाइ र भाउजुसँग मिलेर गरिएको मनकामना दर्शन मेरो जीवनको अत्यन्तै मिठो स्मृतिहरूमध्ये एक बनेर बसेको छ । शरद ऋतुको याम उसैपनि मलई सबैभन्दा रमणीय र उल्लासमय लाग्छ । अझ, बिहानको चिसो हावा, घामको हल्का ताप र धार्मिक यात्राको उत्साह मिसिएको त्यो दिन आज पनि मनमै ताजै छ । अझ पहिलो पटक केवलकार चढेको उत्साहपूर्ण क्षण, रमाइलो कुराकानी, हाँसो ठट्टा, केवलकारबाट देखिने हरियाली पहाडहरुको मनोरम दृश्य, सतत सलल बगी रहेको त्रीशुली नदीको पवित्रता, पहाडी गाँउबस्ती, केवलकारको ओहोरदोहोर र केवलकारबाट माथि झरेपछिको चिसो हावाको स्पर्श आदीले मनमा अमिट स्मृति कोरिदिएको थियो ।
मन्दिरतर्फ उकालै उकालो सिँडीहरुमा चढ्दा देखिएको प्राकृतिक सुन्दरता, चारैतिर लटरम्म सुन्तला फलिरहेको, स्थानीय बजारको रमझम, बाटोभरि भेटिने भक्तजनहरूको उत्साह आदीले मेरो हृदयपनि आध्यात्मीक उर्जाले भरिएको जस्तो पुलकीत भएको थियो । मन्दिर पुगेर गरेको मनाकामनामाईको दर्शन र पूजा–आराधनाले मनमा एक अद्भुत शान्ति ल्याएको महसुग गरेको थिए । अझ भनौ, वरिपरिको हरियाली पहाडी दृश्य र मनकामनाको आध्यात्मिक वातावरणले मनलाई पूर्णतः शान्त, प्रसन्न र कृतज्ञ बनाएको थियो ।
मनकामनामाईको दर्शनपछि हामीले त्यहाँको स्थानीय होटलमा खाएको विशेष खाना आजपनि जिब्रोले बिर्सीएको छैन । समग्रमा, आज पनि त्यो दिन सम्झँदा, मनमा उही मिठास, उही ऊर्जा र उही पारिवारिक उत्साहको क्षणहरु फेरि ताजा भएर आइदिन्छन । वास्तवमै, त्यो यात्रा केवल मनकामनामाईको दर्शन मात्र थिएन, त्यो त जीवन्त सम्झिरहने एक भावनात्मक र आध्यात्मिक अनुभव थियो ।





