यो अन्तरवार्ता जनसवाल राष्ट्रिय दैनिकको छापा पत्रिकामा र अनलानइनमा मिति २०८० साल बैशाख २२ गते प्रकाशित भएको अन्तरवार्ता हो, त्यसको अफिसियल लिंक यो हो- हिजोआज हरेक ज्येष्ठ नागरिक आफ्नै घरमा तिरस्कृत भएर बाँचिरहेका छन् ।
काठमाडौं । डा. गौरीशंकर लाल दास शताब्दी डाक्टरको नामले पनि परिचित हुनुहन्छ । राष्ट्रिय मानव अधिकार आयोग र लोक सेवा आयोगको पूर्व सदस्यसमेत रहनुभएका दास बी.पी. आँखा प्रतिष्ठानको अध्यक्ष हनुहुन्छ । उमेरले शताब्दी छुन लागेका डा. दाससँग ज्येष्ठ नागरिकको अनुभव, अवस्था र अन्य विविध विषयमा जनसवाल राष्ट्रिय दैनिकका सह–सम्पादक भीम प्रसाद न्यौपानेले गरेको कुराकानीको सारसंक्षेप:
तपाईँले जीवनमा के–के गतिविधि गर्नुभयो सरसरती बताईदिनुस न ?
मैले सुरुमा पटनाबाट एमबिबिएस पढे । एमबिबिएस सकेर वीर अस्पतालमा जागिर खाएँ । उबेला मैले जागिर खादा जम्मा २०० रुपैंया तलब थियो । पछि ट्युबरक्लोसीसमा डिप्लोमा गर्न वेल्स गए । त्यसपछि मैले इङल्यान्डबाट ट्रोपीकल मेडीसीनमा पनि डिप्लोमा गरे । टोखा अस्पतालमा पनि लामो समय काम गरे । त्यसपछि पुनः वीर अस्पतालमा नै फर्किए । अनि स्वास्थ्य मन्त्रालयमा प्रमुख योजना अधिकृत भएर काम गरे । त्यसपछि चैँ म लोकसेवा आयोगमा सदस्यको रूपमा काम गर्ने अवसर मिल्यो । लोकसेवा आयोगमा एक दशक भन्दा बढी काम गरेँ । त्यसपछि फेरी मानव अधिकार आयोगमा सदस्यको रूपमा काम गर्ने अवसर पाएँ । म मानव अधिकार आयोगको पहिलो ब्याचको सदस्य हुँ । हामीले काम सुरु गर्दा त एउटा सानो कोठामा सबैजना बस्थ्यौँ । पैसा नै थिएन मानव अधिकार आयोगसँग । हामीले ३ महिनासम्म कुनैपनि तलब भत्ता नै खाँयनौं । हामीले बिस्तारै बिस्तारै मानव अधिकार आयोगलाई बलियो बनाउँदै अघि बढ्यौँ ।
तपाईँले अहिलेसम्म नेपालको कुन कुन संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएर काम गर्नुभयो ?
मैले जीवनमा धेरै संस्थामा प्रत्यक्ष जोडिएर काम गर्ने अवसर पाएँ । सरकारी तहमा मैले पहिल्यै भनिहालेँ– वीर अस्पताल, स्वास्थ्य मन्त्रालय, लोकसेवा आयोग र मानव अधिकार आयोगमा सक्रिय रूपमा काम गरे । र, अन्य सामाजिक संघसंस्थाहरु चैँ धेरै छन् जसमा म प्रत्यक्ष जोडिएर काम गरेँ । विशेष गरी– नेपाल रेडक्रस सोसाइटीमा कोषाध्यक्ष तथा सल्लाहकारको रुपमा, नेपाल लिप्रोसी महासंघको अध्यक्षको रूपमा, नेपाल ज्येष्ठ नागरिक महासंघको संस्थापक अध्यक्ष एवं सल्लाहकारकोरुपमा, नेपाल मेडिकल एसोसिएसनको उपाध्यक्षको रूपमा, नेपाल चित्रगुप्त प्रतिष्ठानको अध्यक्षकोरुपमा, नेपाल भारत मित्रता समाजको उपाध्यक्षकोरुपमा लगायत अन्य धेरै संघसंस्थाहरुको कार्यकारी पदहरूमा रहेर योगदान पुर्याएँ ।
तपाईँको अहिलेसम्मको कामको अनुभवका धेरै रोचक प्रसङ्गहरू छन् होला पक्कै । केही रोचक प्रसङ्गहरू बताईदिनुस न ?
मेरो जीवनका धेरै रोचक किस्साहरू र प्रसङ्गहरू छन् । सबै त मैले सम्झिन पनि सक्दिन, सबै सम्झिन थाले भने एउटा अन्तरवार्ता हैन किताब नै बन्छ । तर, सरसरती सम्झनामा रहेका एक÷दुई किस्साहरू म शेयर गर्छु । २०१० साल तिर क्षेयरोग निवारण संस्थाको कार्यसमितिमा रहेर काम गरेँ । रोचक कुरा के छ भने त्यतिखेरको प्रधानमन्त्री मातृकाप्रसाद कोइराला यस संस्थाको अध्यक्ष हुनुहुन्थ्यो र पछि त्यतिखेरको स्वास्थ्य मन्त्री डा. नागेश्वर प्रसाद सिंह पनि यस संस्थाको अध्यक्ष रहनुभयो ।
रेडक्रस नेपालमा सदस्य एवं कोषाध्यक्ष भई सो संस्थाको पदपूर्ति समिति र केन्द्रीय विकास समितिमा रहेर ३० वर्ष काम गरे । त्यही बेलामा खानेपानी आयोजना सञ्चालन गर्नको लागि नेपालका विभिन्न विकट जिल्लाहरूमा हामी पुग्यौँ । म, हाम्रो साथी बद्री खनाल र नेदरल्यान्डको एकजना सल्लाहकार सहितको टोली हामी अछाम गएका थिएँम । त्यतिखेर अछाममा ट्वाइलेट थिएन । हामी नेपाली त बाहिर जंगलमा वा घारीमा ट्वाइलेट जान अनुभवी थियौँ, हामीलाई त कुनै समस्या भएन । तर, हाम्रो नेदरल्यान्डको साथी त ट्वाइलेट नभई दिसा पिसाब नै नगर्ने । तब, जिल्ला पञ्चायतको एउटा ट्वाइलेट रहेछ, हामीले अनुरोध गरेर हाम्रो साथीलाई त्यहाँ ट्वाइलेटको व्यवस्था गराईदिईम । त्यसपछि हामीले त्यहीँ ठाउँबाट ट्वाइलेट परियोजना सञ्चालन सुरु गरीँम, सो परियोजना देशव्यापी बन्यो ।
त्यस्तै अर्को रोचक प्रसङ्ग के छ भने पाल्पा तानसेनमा एउटा मगरहरूको गाउँ रहेछ । यस्तो फोहोर÷दुर्घन्धीत रहेछ कि मानिसहरू हातमा इँटा लिएर त्यो इँटा बिछाउँदै हिँड्थ्यो रहेछ । जब हामीले त्यो त्यहीँ गएर महसुस ग¥यौ तब त्यहाँ पनि हामीले सामुदायीक विकास आयोजना सञ्चालन गरेर सफा गाउँमा परिणत गरायौँ, यो अभियान पनि देशव्यापी भयो । यसरी नेपाल रेडक्रस सोसाइटीमा आबद्ध भएर नेपालमा धेरै विकासका कामहरू गर्ने अवसर मिल्यो ।
तपाईँले विश्वका धेरै देशहरू घुम्नुभयो होला पक्कै पनि । कस्तो पाउनु भयो अन्य देशको तुलनामा नेपाल र नेपालीहरूको जीवनशैली ?
मैले मेरो प्रोफेसनल करिअरमा काम, प्रशिक्षण तथा विभिन्न सिलसिलामा विश्वका धेरै देशहरू गएको छु । युरोपका प्राय देशहरू, अमेरिका, जापान, बेलायत, रसिया, चीन र भारत लगायत धेरै देशहरू घुम्ने अवसर पाएको थिएँ । नेपालको पनि लगभग मैले सबैजसो जिल्लाहरू घुमेको छु । साथै, मैले यति धेरै काम गर्ने मौका पाँए कि त्यही कामहरूको कदर स्वरूप मैले जीवनमा पाँच दर्जन भन्दा बढी पुरस्कारहरू समेत पाएको छु । त्यसर्थ, आजभोलि मलाई लाग्छ जीवन त बहुत लामो रहेछ, जे चाहँन्छौं त्यो पुरा गर्न सकिने रहेछ । र, जहाँसम्म अरू देशको तुलनामा नेपालीहरूको जीवनशैलीको कुरा छ, मेरो अनुभवमा त मैले के पाएँ भने हाम्रो नेपाल जति सुन्दर, हाम्रो नेपालीहरू जति सरल र हाम्रो नेपालमा जति सांस्कृतिक विविधता अन्य देशहरूमा पाँईदैन । म एकदमै सरल व्यक्ति, त्यसैले मलाई सबै सबै देशहरू भन्दा नेपाल नै प्यारो लाग्छ, नेपालीहरूको सरलपना नै मलाई विशेष लाग्छ ।
हाम्रो नेपालमा ज्येष्ठ नागरिकहरू एकदमै अपमानित छन् भनिन्छ । ६० वर्ष भन्दा बढी कुनै न कुनै रूपमा देशलाई योगदान पु¥याएका हुन्छन् तर बूढो भएपछि राज्यले ज्येष्ठ नागरिकलाई केही पनि सुविधा; व्यवस्था र सम्मान दिँदैन । यस्ता सवालहरूमा हजुर अध्यक्ष रहेर लामो समय काम गर्नुभएको संस्था ज्येष्ठ नागरिक महासंघले कस्तो काम गरिरहेको छ ?
हो खासमा हाम्रो संस्कृति अनुसार ज्येष्ठ नागरिकलाई एकदम सम्मान गर्ने, माया गर्ने, उनीहरूको हेरविचार गर्ने, उनीहरूबाट आर्सीवाद लिने हो । तर आजभोलि हाम्रो मौलिक संस्कृति क्षयीकरण हुँदै छ । पश्चिमा संस्कृति मौलाउँदै छ । ज्येष्ठ नागरिकहरूलाई अपमान गरिन्छ । बृद्धाआश्रम भरिन थालेको छ । सरकारले पनि केवल ४ महिनामा एक पटक भत्ता दिने बाहेक अरू खासै केही पनि व्यवस्था गरेको छैन । वास्तवमा हरेक ज्येष्ठ नागरकीले कुनै न कुनै रूपमा देशलाई योगदान पु¥याएकै हुन्छ । तर, देशले भने ज्येष्ठ नागरिकहरूको समस्या, मर्म, र पीडा बुझिदिँदैन । आजभोलि हरके ज्येष्ठ नागरिकहरू आफ्नै घरमा तिरस्कृत भएर बाँचिरहनु परेको छ । समयको चक्र सधैँ एकैनास चलिरहन्छ । सबै मानिसको बुढो हुने दिन आउँछ । त्यसर्थ, हाम्रो संस्था ज्येष्ठ नागरिक महासंघले ज्येष्ठ नागरिकहरूका तमाम समस्याहरूबारे आवाज उठाउने, सरकारलाई ध्यानाकर्षण गराउने, परामर्श गर्ने, वकालत गर्ने र आवश्यक ठाउँमा सहयोग गर्ने गर्दै आएको छ ।
तपाईँको अनुभवमा अहिले हाम्रो नेपालका ज्येष्ठ नागरिकहरूको तमाम समस्याहरू के के हुन; उनीहरूले के कस्ता कठिनाइ भोगिरहेका छन् ? र ती समस्याहरूको समाधानको लागि के कस्ता प्रयासहरू भइरहेका छन् ?
हाम्रो नेपालमा ज्येष्ठ नागरिकहरू समस्या नै समस्यामा वा पिर नै पिरमा बाँचिरहेका छन् । उनीहरूका तमाम समस्याहरूलाई म तीन वटा “स” बाट सुरु हुने मुख्य बुँदामा व्याख्या गर्दछु । (१) सम्मानको कमी छ, अर्थात् पहिले मातृ देवः भव भनिन्थ्यो तर अहिले यस्तो छैन । ज्येष्ठ नागरिकहरू स्वतः समाजको सम्मानित व्यक्तिहरू हुन तर यहाँ त पाउनुपर्ने सम्मान पनि पाँउदैनन, सबैले हेप्ने, चेप्ने, अपमान गर्ने मात्र गर्दछन्, जसले गर्दा उनीहरूको मनोविज्ञानमा नकारात्मक असर पुग्न गई उनीहरूको जीवनमा निराशता निम्त्याउँछ । अनि, (२) सुरक्षाको कमी छ, अर्थात् ज्येष्ठ नागरिकको स्वास्थ्यको सुरक्षा, सामाजिक सुरक्षा लगायत विभिन्न सुरक्षाको कमिले गर्दा उनीहरू आफूलाई असुरक्षित महसुस गरी खुम्चिएर बस्न बाध्य छन्, परनिर्भर भएर बस्न बाध्य छन् । त्यसपछि, (३) सहचारीयताको कमी छ, अर्थात् ज्येष्ठ नागरिकहरूलाई साथ दिने, माया गर्ने, सहयोग गर्ने, गफ गर्ने, सँगै बसेर हरेक दुःख सुखमा साथ दिने, जस्ता महत्वपूर्ण क्रियाकलापहरूबाट आजभोलिका ज्येष्ठ नागरिकहरू वञ्चित भएर एक्लै एक्लै टोलाएर बस्न बाध्य छन् । आफ्ना छोराहरू विदेश जान्छन्, छोरीहरू विवाह गरेर गइसकेका हुन्छन्, अनि घरमा बुढाबुढी मात्र सकी नसकी एक्लै बस्नुपर्ने बाध्यता छ । समग्रमा नेपाली ज्येष्ठ नागरिकहरूको तमाम समस्याहरू यही तीन– सम्मानको कमी, सुरक्षाको कमी र सहचारीयताको कमीमा केन्द्रित छन् ।
र, ज्येष्ठ नागरिकहरूका समस्या समाधानतर्फ पहिले देखिनै नेपाल सरकारको ध्यानाकर्षण हामीले गराउँदै आएका छम । परिणामस्वरूप, २०५१ सालदेखि सामाजिक सुरक्षा भत्ता १०० रुपैयाँ बाट सुरु भएको थियो । अहिले त बढेर ४००० भई सक्यो । यो एकदमै राम्रो योजना थियो । यसले ज्येष्ठ नागरिकहरूलाई थोरबहुत प्रेरणा मिलेको छ । साथसाथै, अहिले विस्मृति रोग, मिर्गौला सम्बन्धी रोग, प्यारालाइसिस रोग लगायत विभिन्न ठुला रोगहरूको उपचारमा सरकारले थोरबहुत सहयोग गर्न थालेको छ, यति मात्र त पर्याप्त छैन तर यो पनि राम्रो थालनी भएको छ । साथै, विभिन्न संघसंस्थाहरुले वृद्धा आश्रमहरू खोलेर अपहेलित, बेसहारा, दुःखित, पीडित बृद्धहरुलाई सहायता दिने व्यवस्था गर्दै आएका छन् ।
तपाईँको यो अन्तरवार्ता पढ्ने मानिसहरूलाई स्वस्थ जीवन जिउन टिप्स पनि हुनसक्छ, तपाईँको स्वस्थ जीवनको रहस्य के हो ? यसरी १०० वर्ष (शताब्दी) बाच्ने मन्त्र के छ ? तपाईँको दिनचर्या कस्तो छ ?
मेरो स्वास्थ्यको रहस्य केही छैन । मानिसहरूको आयु नै १०० वर्ष हो । हामीले हाम्रो जीवनपद्धतिलाई सही ढंगले अपनायौं भने सबै मानिसहरू १०० वर्ष बाच्छौँ । मेरो जीवनमा मैले ३ वटा कुरालाई विशेष ध्यान दिने गरेको छु । आहार, विहार र विचार । अर्थात्, हामीले सात्विक भोजनलाई अपनाउनु पर्दछ । मतलब, ताजा एवं हरिया सागसब्जी, दाल, भात, तरकारी नै हो मैले हरेक दिन खाने । तर, थोरै खाने, तर पौष्टिक आहार खाने गर्नु पर्दछ । म माछामासु खाँदिन । म धुम्रपान वा मद्यपान गर्दिन । खाना खाए पछि, शरीरलाई आवश्यक पर्ने थोरबहुत व्यायाम अनिवार्य गर्नुपर्दछ । म जीवनमा एकदम हिँड्छु । म ट्रेकीङको लागि सौखिन थिए । अहिले पनि म थोरबहुत हिँडिरहेको छु । म हिँडेरै कैलाश मानसरोवर पुगेको छु । नेपालका धेरै विकट जिल्लाहरूको विकट गाँउहरु पनि म हिँडेरै पुगेको छु । हिँडाई र मानिसको स्वास्थ्यबिच एकदम घनिष्ठ सकारात्मक सम्बन्ध छ । अर्थात्, जति हिँड्यो उति राम्रो । त्यसपछि मानिसले जहिले पनि सकारात्मक सोच राख्नु पर्दछ । नियमित उचित समयमा सुत्ने र उठ्ने गर्नुपर्दछ । योग साधना गर्ने गर्नुपर्दछ । धेरै लोभ, मोह, डाह, रिस, घमन्ड, र धेरै नचाहिने कुरा खेलाइराख्ने साथै धेरै महत्वकांक्षी व्यक्तिको स्वास्थ्य राम्रो हुँदैन । हाम्रो वैदिक दर्शनले भनेको आहार, विहार र विचार भनेजस्तै तिब्बतीय दर्शनले भनेको “कम खाऊ, डबल हिँड, त्रिपल हाँस” भन्ने छ । कुरा उस्तै उस्तै हो । त्यसैले आहार, विहार र विचारमा ध्यान पुर्याउँ । स्वस्थ जीवन बाँचौँ ।