प्रिय कवि हिमाल दाजुको मलाई मनपर्ने एक कविता
"प्रकृति र जीवन"
मलाई सधैं पहाडले तानिरह्यो
जसरी तान्दछ चुम्बकले फलाम;
मलाई पहाडको उचाइले आकर्षित गरिरह्यो
अझ भनौं उसको गम्भीरता र दृढताले खिचिरह्यो ।
सधैं सधैं मलाई लागिरह्यो
कहाँ पुगेर थकाइ मार्दा हुन्
नदीका यी उत्ताल छालहरु;
तिनकै बुइ चढेर
थकाइरहित यात्रामा
निस्किने रहर लागिरह्यो सधैं ।
मलाई भीरमा फुल्ने गुराँसले
सधैं सधैं मोहनी लगाइरह्यो;
र सोचिरहें
घामपानी र असिनाको चुटाइ सहेर पनि
कसरी अपूर्व सौन्दर्यको लाली छर्न सक्छ गुँरास
त्यो पनि अक्करे भीरपाखामा ?
हिलोमा फुलेको कमलले
मेरो मन नै चोरेको छ;
सफेद परिधानमा
दुर्गन्धित मन भएकाहरु देखेर
सधैं मलाई लागिरह्यो
कसरी निर्मल र बेदाग रहन सक्यो कमल
त्यो पनि दुनियाँको नजरको हिलोमा ?
मलाई जूनकिरीसँग
सधैं मीत लगाउन मन लागिरह्यो;
दिउँसै रात पारेर
कालोलाई सेतो र सेतोलाई कालो बनाउनेहरु देख्दा
अँध्यारोकाविरुद्ध
सम्झौताहीन संघर्ष लडिरहने
जूनकिरी हुन मन लागिरह्यो ।
मलाई बादलले लोभ्याउनुसम्म लोभ्यायो
पलपल कोरिरहने बेजोड चित्रकारीले
सधैं जब बादललाई नियाल्छु
त्यहाँ अर्कै दुनियाँ देख्छु;
बादलको अनुपम सिर्जनशीलताबाट म कायल हुन्छु ।
मलाई अझै गहिरो संझना छ
सानो छँदा जून हेरिरहन्थें म
जूनले मलाई छक्याइरहन्थ्यो
जहाँ पुगे पनि जून मसँगै हुन्थ्यो
थाहा थिएन
जून मलाई पछ्याउँथ्यो कि म जूनलाई पछ्याउँथे ?
तर
जूनसँगको मेरो पिरती प्रगाढ हुँदो छ ।
मलाई थाहा छ, म हुन सक्दिनँ
तर मलाई सधैं आकाश हुन मन लागिरह्यो
आकाश देखेर
आकाशको अनन्त फैलावट देखेर
आकाशको अदभूत विशालताले छोएर
आकाशको असीम विनम्रता भोगेर
मलाई सधैं सधैं ईर्ष्या लागिरह्यो;
हो, म आकाश हुन नसकूँला
तर त्यही आकाशको महाशून्यताको
विराट विस्तृतिभित्र हराउन सकूँ
यही छ मेरो एउटै कामना...!