
हाम्रो प्रेम कहानी
प्रेमको बिजारोपण जुन दिन भयो, त्यही दिन दुई वर्षपछि हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण क्षण आयो— हाम्रो शुभ विवाह । म (भीम) र मेरी प्रेमीका (कमला) को पहिलो भेट २०७९ साल फागुन ९ गते भएको थियो । त्यसै दिनदेखि हामीले एकअर्कालाई माया गर्न थाल्यौ । बिस्तारै बिस्तारै हामीबीचको आत्मीय सम्बन्धले गहिरो प्रेमको रुप लियो । दुई वर्षसम्म हामी कहिल्यै एकअर्कासँग सम्पर्कविहीन भएनौं, बरु हामी हरेक दिन घण्टौं घण्टा फोनमा कुराकानी गथ्र्यौं । फुनमा कुरा गर्दा हामी सधै दुःख सुखका कुरा गर्ने, हाँस्ने, रमाउने र बालापनदेखि अहिलेसम्मको अनुभव साटासाट गरेर हामीले एकअर्कालाई गहिरोसँग बुझ्यौं । दूरीले हाम्रो प्रेमलाई कहिल्यै कम गर्न सकेन, म जर्मनीमा अध्ययनरत थिएँ, उनी नेपालमै, तर हाम्रो मन भने सँधै एउटै धड्कन्थ्यो । दुई वर्षसम्म कहिल्यै झगडा गरेनौं, किनभने हाम्रो सोच, व्यवहार, दुःख सुख, संघर्ष, अनुभव, विचार र सपना एकदमै मिल्दोजुल्दो थियो । भनिन्छ– जन्म, विवाह र मरण देखेको हैन लेखेको हुन्छ, ठ्याक्कै त्यस्तै भयो । हाम्रो पहिलो भेटको ठ्याक्कै २ वर्षपछि २०८१ साल फागुन ९ गते, हामी विवाहको पवित्र बन्धनमा बाँधियौं ।
शुभ विवाहको अविस्मरणीय दिन
हाम्रो योजना अनुसार २०८१ साल फागुन ९ गते नै हामीले एकअर्कालाई जीवनसाथी बनाउने निर्णय गर्यौं । सोही अनुसार फागुन ८ गते जगिया लगाएर, शुभविवाहको पूर्वाङ्ग गर्यौ । बिहेको दिन हाम्रो बसाइ काठमाडौँको मातातीर्थबाट जन्ती गएका थियौँ पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको घर चक्रपथमा, किनभने मेरी प्रेमीका उहाँको नातिनी थिइन् । हामी करिब ६५ जना जन्ती उल्लासमय पञ्चेबाजा र नाचसहित भव्य रमाइलो गर्दै गएका थियौँ । बिहेको पूरै संस्कारिक विधि सम्पन्न गर्यौं, सबै परम्परागत रीतिरिवाजहरू पालना गर्दै, सात फेरा घुम्यौं र बाचाकसम खाएर विवाह बन्धनमा बाधियौं । दुलहीलाई घर भित्र्याउने क्रममा बैनिहरूले परम्पराअनुसार बाटो छेके । बैनिहरूले बाटो छाड्न मोलमोलाई गरेको क्षण अझ अविस्मरणीय रह्यो । दुलही भित्र्याउने सबै विधि पूरा गरिसकेपछि दुलहीको मुख हेर्ने कार्यक्रम सम्पन्न भयो, जसले दुलहीलाइ हाम्रो परिवारसँग घुममिलन र चिनजान गराएर उनलाइ पारिवारीक नाता गाँस्न सहज गरायो । यसरी फागुन ९ गते हाम्रो जीवनकै सबैभन्दा महत्वपूर्ण, स्वर्णिम एवं शुभ दिन सावित भयो । जे भएपनि हाम्रो मिलन केवल संयोग मात्र हैन, बरु दुई वर्ष लामो प्रेम र समझदारीको सुन्दर परिणति हो ।
रिसेप्सन भोजको भव्यता
बिहेको भोलीपल्ट फागुन १० गते, सम्राट पार्टी प्यालेस, नयाँबजारमा, हाम्रो रिसेप्सन भोज थियो । १५० जना भन्दा बढी आफन्त, इष्टमित्र र साथीभाइहरू हामीलाइ बधाइ तथा शुभकामना दिन पाल्नुभएकाले हामीमा उत्साहको कुनै सीमा थिएन । रमाइलो नाचगान, खानपान र शुभकामनाले वातावरण उल्लासमय बनेको थियो । त्यो दिनको भब्य रमाइलो क्षणहरू हाम्रो स्मृतिमा अमिट रहिरहेको छ । खासमा हाम्रो विवाहले हामीलाई मात्र होइन, सबैलाई अविस्मरणीय क्षणहरूको उपहार दियो ।
प्रेमको सफल परिणति
यसरी, हाम्रो दुई वर्ष लामो प्रेम विवाहमा परिणत भयो, र हामी गृहस्थ जीवनको मार्गमा अगाडि बढ्ने प्रण गर्यौं । उनी मेरो प्रेमीकाबाट मेरी जीवनसंगिनी भइन । समग्रमा भलै हाम्रो विवाह सभ्य, सरल र सिम्पल भए पनि भव्य र स्मरणीय रह्यो । यी पलहरू जीवनभर हाम्रो हृदयमा सुनौलो सम्झनाको रुपमा रहनेछन् । विवाहको दिन हामीले केवल संस्कारहरू मात्र पुरा गरेनौं, बरु जीवनभर सँगै रहने संकल्प समेत गर्यौं ।
यो प्रेम, बिश्वास र आत्मीय सम्बन्धको यात्रा जीवनभरि यस्तै प्रगाढ बनिरहुन् । हाम्रो प्रेमकथा, हाम्रो विवाह र यी सुनौला क्षणहरू सँधै स्मरणीय रहिरहून् ! ❤